पूर्ण सरसफाइका लागि सात झण्डे पद्धति तर्जुमा

पूर्ण सरसफाइका लागि सात झण्डे पद्धति सम्बन्धी तालिम सम्पन्न

पूर्ण सरसफाइ अभियानको प्रवर्धनका लागि तयार पारिएको सात झण्डे पद्धति (7 Flag Approach in Total Sanitation) सम्बन्धी तालिमहरू सञ्चालन गरिएको छ । भक्तपुर जिल्लाको नगरकोटमा गत कार्तिक ५ गते सञ्चालित उक्त तालिममा काभ्रे जिल्लाको टुकुचा नालास्थित स्वायत्त वराह माद्यमिक विद्यालयका १४ जना विद्यार्थी तथा एक जना शिक्षकको सहभागिता रहेको थियो । यसैगरी कास्की जिल्लाको लुम्लेमा कार्तिक ११ गते सञ्चालित तालिममा तथा कास्की जिल्लाको हेम्जास्थित अम्बिका माद्यमिक विद्यालयका १४ जना विद्यार्थी र एक जना शिक्षकको सहभागिता रहेको थियो । परीक्षणका रूपमा सञ्चालित यही दुवै तालिमका प्रशिक्षकहरूमा विश्व स्वास्थ्य संगठनका डा. सुदनराज पन्थी, खानेपानी तथा ढल निकास विभागको वातावरणीय तथा सरसफाइ शाखाका प्रेमकृष्ण श्रेष्ठ र चेतनारायण श्रेष्ठ हुनुहुन्थ्यो।

विद्यालय मार्फत् स्वच्छता अभियानलाई अझ प्रभावकारी रूपले अघि बढाउनका लागि पूर्ण सरसफाइ अभियानको प्रवर्धनका लागि तयार पारिएको सात झण्डे पद्धति (7 Flag Approach in Total Sanitation) को तर्जुमा गरिएको छ । विश्व स्वास्थ संगठन नेपाल च्याप्टरद्वारा तयार पारिएको यो अवधारणा मुख्यत:  खानेपानी तथा सरसफाइ सम्बन्धी दिगो विकासको लक्ष्यलाई मध्यनजर गरी तयार गरिएको हो । यस अन्तर्गत सात वटा मुख्य सूचक र प्रत्येक सूचकका पाँच-पाँच वटा सहायक सूचक रहेका छन् । यी सबै सूचकहरू पूरा गर्ने विद्यालयलाई 7FATS विद्यालय अर्थात् 'पूर्ण सरसफाइ सम्बन्धी सात झण्डे पद्धति अपनाएको विद्यालय' घोषित गरिने भएको छ । बालबालिकामा वयस्कको भन्दा तुलनात्मक रूपले कुनै पनि कुरा छिटो ग्रहण गर्न सक्ने र आफूले विद्यालयमा सिकेका कुराहरूलाई घर-घरमा पुर्‍याएर अभिभावकहरूलाई समेत त्यसको अवलम्बन गराउन सक्ने विशेषतालाई मध्यनजर गरेर यो पद्धतिको तर्जुमा गरिएको हो । यस पद्धति अन्तर्गत देहाय बमोजिममा मुख्य सूचकहरूको निर्धारण गरिएको छ :

  • प्रत्येक बालबालिकाले चर्पी प्रयोग गरिसकेपछि र खाना खानु अघि दुवै हात साबुन पानीले उचित तरिकाले धोएको हुनु पर्ने
  • प्रत्येक बालबालिकाले स्वच्छ चर्पी वा पिसाब फेर्ने ठाउँ (urinal) प्रयोग गरेको हुनु पर्ने
  • प्रत्येक बालबालिका विद्यालयद्वारा आपूर्ति गरिएको सुरक्षित पानी पिउन सक्षम भएको हुनुपर्ने
  • विद्यालयमा महिनावारी समयको स्वच्छता र सरसफाइ सम्बन्धी सुविधा उपलब्ध भएको हुनु पर्ने
  • प्रत्येक विद्यालयमा सम्पूर्ण छात्रछात्राका लागि, उनीहरूको शारीरिक र सामाजिक अवस्था जे जस्तो भए पनि समान रूपमा खानेपानी तथा सरसफाइ सम्बन्धी सुविधा उपलब्ध भएको हुनुपर्ने
  • प्रत्येक बालबालिकाले स्वच्छ र सुरक्षित खानेकुरा पाएको हुनुपर्ने
  • विद्यालयको समग्र वातावरण स्वच्छ भएको हुनु पर्ने